
२० माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो ।
ब्याटिङमा केही बलियो देखिएपनि फिनिसङमा चुक्दा नेपाल फेरि पनि लक्ष्य पूरा गर्नबाट भने चुक्यो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सम्झना खड्काले २३ रन बनाइन् ।
यस हारले नेपालको शृंखला उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । अब नेपालले मंगलबार थाइल्याण्डसँग, बुधबार नेदरल्याण्ड्स तथा शुक्रबार थाइल्याण्डसँग खेल्ने छ ।