
सुनसरीको गढी गाउँपालिकामा संघीय सरकार र गाउँपालिकाको ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको गाउँपालिका भवन अन्तिम चरणमा पुगेको छ। योजना शाखा प्रमुख योगराज निरौलाका अनुसार आधुनिक सुविधा सम्पन्न उक्त भवनले स्थानीय तहको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
गढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ११ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा हालसम्म ६ किलोमिटर सडक निर्माण पूरा भइसकेको छ भने बाँकी ५ किलोमिटरको कार्य अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले जानकारी दिनुभयो। साथै, नाला निर्माण कार्य पनि तीव्र रूपमा अगाडि बढिरहेको छ।
नेपाल सरकारको नीति कार्यक्रम अनुरूप सुरक्षित आवास निर्माण योजनाअन्तर्गत २५ दलित परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। यस योजनाले सामाजिक समावेशिता र समानता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ।
विद्यालयहरूको भौतिक सुधार, स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोग तथा महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू लागू गरिएका छन्।
दीगो विकास लक्ष्यअनुरूप बहुवर्षीय योजनाहरू अगाडि बढाइरहेको गाउँपालिकाले यातायात सञ्जाल सुधारमा पनि जोड दिएको छ। यहाँ ११ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न भएपछि स्थानीय यातायात व्यवस्था अझ सहज बन्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, कृषि क्षेत्रमा समेत गाउँपालिकाले उल्लेखनीय प्रगति गरेको छ। किसानहरूलाई लक्षित गर्दै अनुदानमा बीउ, मल, तथा कृषि सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाको भौतिक पूर्वाधार विकास अन्य छिमेकी स्थानीय तहहरूको तुलनामा अगाडि रहेको दाबी प्रशासकीय अधिकृत खड्काले गर्नुभएको छ।
संघीय सरकारको सहयोग र स्थानीय सरकारको प्रतिबद्धताले गढी गाउँपालिकालाई विकासको उत्कृष्ट नमुना बनाउने लक्ष्य लिइएको छ। विकास निर्माणका कार्यहरू द्रुत गतिमा अगाडि बढिरहेका छन्, जसले गाउँपालिकाका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाएको छ।