कोशी पर्यटन वर्ष’ : भारतीय सवारीसाधनहरूमा स्टिकर टाँस्न सुरु

कोशी प्रदेश सरकारले आगामी कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनहरूमा पर्यटनसम्बन्धी स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ ।

आइतवार बिहान ८:३० बजे सुनसरीको कोशी ब्यारेजस्थित प्रहरी चौकीको प्रांगणमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भारतीय नम्बर प्लेटको सवारीसाधनमा स्टिकर टाँसी कार्यक्रमको औपचारिक सुरुवात गरे ।

यस अभियानको उद्देश्य विदेशी पर्यटकलाई सहज रूपमा नेपाल प्रवेश गर्न सहयोग पुर्‍याउनुका साथै कोशी पर्यटन वर्ष २०८२ को प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने रहेको छ। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बल ४ नं. गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशका अन्य सीमावर्ती नाकाहरूमा पनि क्रमशः यो कार्यक्रम विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो । भारतबाट आउने पर्यटकहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरी लागू गर्न लागिएको हो ।

मन्त्री मण्डलले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उनले बताए ।

नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै मण्डलले अतिथिहरूलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे । उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताए ।

यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरू बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ । कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकडभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ । प्रहरी र कर्मचारी राखेर कार्यालयसमेत स्थापना गरी यो काम अगाडि बढाइएको छ ।