ब्राउन सुगरसहित लौकहीबाट पुन: दुईजना पक्राउ 

लौकही। सुनसरी जिल्लाको सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित दुईजना लाई पुन: नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल (बिओपी ) लौकहीबाट इन्स्पेक्टर नारायणप्रसाद गौतम नेतृत्वको टोलीले भारतीय बजारबाट लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोमबार दुईजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी निर्मल थापाले जानकारी दिए ।

उनका अनुसार इन्स्पेक्टर गौतम नेतृत्वको टोलीले भारतीय बजारबाट नेपालतर्फ आएका मोरङ केराबारी गाउँपालीका १० बस्ने वर्ष ३१ का तेजबहादुर तामाङ र मोटरसाइकलको पछाडि सवार सोहि गाउँपालीका ७ बस्ने वर्ष २७ की फूलमाया लिम्बूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा २.७६ ग्राम फेला पारी आवश्यक कारबाही लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

लागूऔषध कारोबार न्युनिकरण तथा नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरी कटिबद्ध भई लागेको हुनाले पछिल्लो समय लागूऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेको एसपी थापाको भनाइ छ ।